
खोटाङ । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले हेर्ने गरि कोशी प्रदेश बिराटनगरबाट विनियोजन भएको रु ६० लाखको आयोजनाले फेल खाएको छ ।
खोटाङको चर्चित हलेसी महादेव मन्दिर परिसर हुँदै हलेसी ओखलढुंगा जोड्ने सडक खण्डमा नाली सहित सडकको ढलान गर्ने भन्दै भौतिक पुर्वाधार मन्त्रालय कोशी प्रदेश बिराटनगरले आव ०८१ / ०८२ को कार्यक्रमबाट छुट्याएको रु ६० लाख बजेट मध्य भ्याट बिल सहित रु ३२ लाखमा २०८२ साल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नेगरी श्री हलेसी निर्माण सेवा काभ्रेले गत बैसाखमा सम्झौता गरेको थियो ।
सो निर्माण कम्पनीले गत बैशाखको मध्यबाट निर्माणकार्य सुरु गरेको एक महिना भित्रै आयोजना सम्पन्न गरि ओखलढुंगा कार्यालयलाई हस्तान्तरण गरेपछि उक्त कार्यालयले स्थानीय तह हलेसी तुवाचुङ नगरपालिका खोटाङलाई आयोजना जिम्मा लगाएको थियो । हलेसी ओखलढुंगा जोड्ने सडक खण्ड मध्य हलेसी महादेव मन्दिरको तल्लो बसाह गुफा अगाडिको क्षेत्रमा गरिएको रु ६० लाखले कुनै सार्थकता नपाउने निश्चित भैसकेको छ ।
आयोजना क्षेत्रमा रहेको साविक खोला र भक्तजनले पवित्र जलको रुपमा समेत प्रयोग गर्दै आइरहेको तल्लो बसाह गुफा अगाडिको खानेपानी धारा र वरिपरिको भौगोलिक अवस्थालाई हेक्का नराखी हचुवामा योजना निर्माण गर्दा अहिले बर्खा लागेसँगै उक्त साविक खोलामा चारैतिरबाट बगेर आएको हिलो लेदो र गेगर हरुले भर्खरै सम्पन्न भएको सडकको ढलान र खानेपानीको धारालाई समेत पुर्ने काम गरिरहेको छ ।
सुरुमा योजना निर्माण हुँदै गर्दा धाराबाट बगेर गएको पानीलाई समेत व्यवस्थापन गर्ने र सडकको दुवैतर्फ नालीको निर्माण गरिने भनेर हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राइको सचिवालयले फेसबूकमा गरेको भिडियो सहितको पोस्ट सामाग्रीलाई मेयर बिमला राइले समेत आफ्नो फेसबूक पेजबाट साझा गरेको भएता पनि हाल निर्माणकार्य सम्पन्न पछि उक्त घोषणा र सूचना गलत सावित भएको छ ।
धाराको नालीलाई उपयुक्त ठाउँमा लगेर विसर्जन गर्नुको साटो नालीलाई पूरा नबनाई खोला र सडकको बिचमै छोडिदिएका कारण चारैतिरबाट बगेर आउने खोलाको हिलोरलेदो को कारण हलेसी बजार क्षेत्रकै खानेपानीको एक मात्र विकल्पको रुपमा रहेको तथा धार्मिक महत्वसँग समेत जोडिएको ऐतिहासिक धारालाई पनि पुर्न सक्ने खतरा बढ्दै गइरहेको छ ।
निर्माण सम्पन्न भएको महिना दिन नबित्त्दै राज्यको यत्रो बजेट स्वाहा भएको , भल बाढी पसेर सडक र धाराको अस्तित्व समाप्त हुन लागेको अर्थहीन र अधुरो आयोजनाको विषयमा शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका प्रमुखसँग बुझ्दा कार्यालयले त्यहीको स्थानीय तहसँग समन्वय गरेर उहाँ हरुकै डिमान्ड र डिजाइन अनुसार ढल बनाइदिएर उहाँहरुलाई नै हस्तान्तरण गरिसकेका छौँ , सडकको ढलान गरिएको होइन , ढल बनाइएको हो , ढलमा पानी नै बग्ने हो बाकी उतै बुझ्नुस् ।
कार्यालय प्रमुख सँग गरिएको कुराकानी र आयोजना स्थलको पछिल्लो अवस्थाको बारे बुझ्न यो भिडियो हेरौं